काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– १२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाई छन्।
उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो।
जिल्लामा रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनी माथी निगरानी गरेको थियो।
बुधबार बिहान घरमै भएको अवस्थामा प्रहरीले फेला पारेर सोधपुछ गर्ने क्रममा प्रहरी टोली माथि नै अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गर्न खोजेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका बजगाईलाई मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।
उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई निज कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफु नेपाल कम्युनिष्ट पार्टि माओवादी विप्लव समूहको जिल्ला कमिटी सदस्य भई पार्टिको निति निर्देशानुसार काम कारवाही गर्दै आएको बताएका छन्