काठमाडौं- स्वास्थ्यकर्मीहरुले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीले ट्रेड युनियनको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका हुन्।
निर्वाचनमा मतदान हुन पाउने अधिकार खोस्न नहुने माग उनीहरुको छ। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न ६ वटा संगठनले ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरुले उम्मेदवार र मतदाता हुने दुवै अधिकार खोसिन लागेको भन्दै आपत्ति जनाएका छन्।
ज्ञापनपत्र बुझाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल छन्।