विराटनगर- मोरङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको छ ।
साउन १४ गते कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको मोरङमा कात्तिक २५ गते सम्ममा मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
भदौ मसान्त सम्म ८ महिला सहित २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कुल मृत्यु भएका मध्ये ५८ प्रतिशत मोरङका थिए ।
असोज समान्तसम्म आईपुग्दा १३ महिला सहित ५० जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । असोजमा मृत्यु प्रतिशत ४० थियो ।
प्रदेश १ का अन्य जिल्लाको तुलनामा संक्रमणबाट मोरङमा मृत्यु हुनेको संख्या अधिक छ । मंगलबारसम्म प्रदेश १ बाहिरका २१ जनासहित २६२ जनाको मृत्यु भएको छ । २६२ मध्ये ९४ जना मोरङका छन् । मृत्यु हुनेमा ३५ दशमलव ८७ प्रतिशत मोरङका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका १७ वटा स्थानीय तह मध्ये लेटाङ र मिक्लाजुङमा बाहेक १५ वटामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबारसम्म विराटनगरमा ६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ महिला र ४६ पुरुष छन् ।
पथरीशनिश्चरेमा ५, बेलबारीमा ४, सुन्दरहरैचा, कटहरी र बुढीगंगामा ३–३, उर्लाबारी, रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी र ग्रामथानमा २–२, केराबारी, जहदा र धनपालथानमा १–१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङमा उल्लेख छ ।
कोरोना संक्रमणबाट सुनसरीमा ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटामा ४, तेह्रथुम ३, इलाममा २, ताप्लेजुङमा १ जनाकाृ मृत्यु भएको छ ।
पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्नुमा स्वास्थ्य सचेतना नअपनाउदाको परिणाम भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
दसैंमा भएको जमघटका कारण पनि संक्रमण धेरैमा फैलिएको जनस्वास्थ्य विद् डा. नवराज सुब्बाले बताए । उनका अनुसार सर्वसाधारणले सुरक्षित उपाय अपनाएको देखिएन । व्यवहारमा परिवर्तन नगर्दासम्म संक्रमणबाट जोगिन समस्या हुने डा. सुब्बाले बताए ।