जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता र गणतन्त्र समाप्त पार्न सक्रिय रहेको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टी निकटका युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले वर्तमान सरकारले मुलुकलाई नै अस्थिर बनाएर संघीयता नै समाप्त पार्ने प्रपञ्च रचिरहेको बताए।
उनले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारकै तर्फबाट चुनौती दिने चेष्टा गरिएको भन्दै संघीयता र गणतन्त्र समाप्त पार्न वर्तमान सरकारले षड्यन्त्र रचिरहेको आरोप लगाए।
मुलुक कोरोना महामारीको संकट झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा सरकार अन्य चलखेलमा लाग्नु मुलुकको लागि दुर्भाग्य रहेको नेता यादवको भनाइ थियो। जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको भन्दै उनले आफुहरु सरकार विरुद्ध सबै मोर्चामा लड्ने बताए।
‘आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको छ। अब देशमा शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्ने समय आइसकेको छ,’ यादवले भने।
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेकोले मुलुकको विकास र समृद्धिका लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि बढ्न यादवले आग्रहसमेत गरे।