नेपालगन्ज- बाँकेमका कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
बर्दियाका दुई र दाङका एक जना गरी सोमबार राति थप तीन जनाको मृत्यु भएको हो । तीनै जनाको कोरोना संक्रमण पुष्टि भएकै दिन मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।
बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं २ निवासी २९ वर्षीय युवाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उनको स्वाव सोमबार विहान मात्रै परीक्षण गरिएका बेलुका ६ बजे पोजेटिभ रिपोर्ट आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका वडा नं ८ का अर्का एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार बेलुका मृत्यु भएको छ ।
खुट्टाको जोर्नी खुस्केको समस्या लिएर नेपालगञ्जस्थित वस्टर्न अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबा बेलुका ५ बजे रिपोर्ट पोजेटिभ आएको र बेलुका सवा ८ बजे उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
त्यस्तै बाँकेमा कोरोनाका कारण सोमबार बेलुका नै दाङका एक पुरुषको मृत्यु भएको छ।
घोराही उपमाहानगरपालिका वडा नं १५ निवासी ६४ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
आइतबार राति १२ बजेतिर अस्पताल भर्ना भएका उनलाई पनि सोमबार विहान १० बजे मात्रै कोरोना पुष्टि भएको थियो ।
यो सहित बाँकेमा ६७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताए। जसमा बाहिरी जिल्लाका ३२ जना छन् ।