सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एउटै गाउँपालिकामा बन्दैछ तीनवटा पुल,  शिलान्यासबीनै जग खन्न सुरु

एउटै गाउँपालिकामा बन्दैछ तीनवटा पुल,  शिलान्यासबीनै जग खन्न सुरु

 कास्कीको मादी गाउँपालिकाका तीनवटा खोलामा शिलान्यास नै नगरी धमाधम पुल बनाउन सुरु गरिएको छ । 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

पोखरा- कास्कीको मादी गाउँपालिकाका तीनवटा खोलामा शिलान्यास नै नगरी धमाधम पुल बनाउन सुरु गरिएको छ । 

वार्दी, इदी र मकैखोलामा सडक पुल निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले ती पुल निर्माण थालेको हो । 

सबै पुलको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट शनिबार शिलान्यास गराउने कार्यक्रम थियो । तर, उनी काठमाडौं गएका कारण शिलान्यास भने हुन सकेन । 

‘शिलान्यास नभए पनि मकैखोला पुलको काम धमाधम सुरु भएको छ,’ पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख इन्जिनियर दिनेश घिमिरेले भने, ‘फाउन्डेसन खन्न थालिएको छ, केही समयपछि औपचारिक शिलान्यास पनि गर्ने हो ।’ 

इदीमाथिको पुलको काम तिहारपछि थाल्ने ठेकेदार कम्पनी गजेन्द्र निर्माण सेवाका अरुण सेढाईंले जानकारी दिए । 

ती ३ पुलमध्ये एउटा साविक भाचोक गाविसको मकैखोलामाथि बन्दैछ भने अरु २ इदी र वार्दी खोलामाथि बन्दैछन् । ती २ पुल मध्यपहाडी लोकमार्गको मादी करिडर अन्तर्गत पर्छन् । इदी खोलामाथिको पुलले साविक सैमराङ र थुमाकोडाँडा गाविस जोड्नेछ ।

वार्दी खोलामा हालसम्म पनि कुनै पुल नभएकाले बर्खाका बेला गाडी आउजाउ हुन सक्दैनन् । स्थानीयले बर्खाको समयमा एउटा गाडी वार्दीपूर्व र अर्काे मादी पश्चिममा राखी यातायात सेवा लिनुपर्ने बाध्यता छ ।  

पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर घिमिरेका अनुसार मकैखोलामाथिको पुल अधिकांश पुल प्रचलित डिजाइन अनुसार आरसिसी ब्रिज हुनेछ भने अरु २ भिन्न डिजाइनमा बन्नेछन् । वार्दी र इदीखोलामाथिका पुल भने प्रिस्ट्रेस्ड डिजाइनका हुने जानकारी घिमिरेले दिए । 

यो प्रविधिमा छडसँगसँगै तार पनि राखिन्छ र पछि तार तन्काइन्छ । यस्तो प्रविधिअनुसारै चिनियाँले मादी नदीमाथि दमौलीको पुल बनाएका गजेन्द्र निर्माण सेवाका सेढाईं बताउँछन् । 

‘यस्तै प्रविधिमा हामीले स्याङ्जाको आँधीखोला र ठडुवामा पुल बनाइसकेका छौं,’ उनले भने, ‘तराईंका धेरै ठाउँमा पनि यस्तो प्रविधिका पुल छन् ।’ यो प्रविधिको पुल निर्माण ‘आरसिसी ब्रिज’ सस्तो पर्न जाने उनले बताए । 

पूर्वाधार विकास कार्यालयका अनुसार मकैखोला पुलको लम्बाई २५ दशमलव ६५० मिटर हुनेछ । वार्दीखोला पुल ३६ दशमलव २ र इदीको चाहिँ ३१ दशमलव २ मिटर हुनेछ । 

इदी र मकैखोलाको पुल निर्माण २०७८ साउन २१ गते निर्माण सक्नुपर्ने गरी गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको हो । 

वार्दीको पुल निर्माण पूरा गर्नुपर्ने अन्तिम मिति २०७८ असोज २८ गते छ । यसको ठेकेदार कम्पनी भने नयाँबाटो भदौरे र जेएस इन्जिनियरिङ जेभी हो । 

मकैखोला पुलको लागत २ करोड ३२ लाख ६९ हजार रुपैयाँ छ । वार्दीको ४ करोड ५२ लाख ७२ हजार र इदीको ४ करोड ४२ लाख १७ हजार रुपैयाँ छ । 

वार्दीखोलामाथि बन्ने पुलको ठेकेदार कम्पनी नयाँबाटो भदौरेका भक्त गुरुङले काम सुरु गरिसकेको जानकारी दिएका छन् । 
 

प्रकाशित: Nov 10, 2020| 01:49 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।