कावासोती– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका १, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन्।
विनयी खोलाका कारण बर्सेनी सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुंगे पुल निर्माण भएपछि खुुसी भएका हुन्।
विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो। बर्सेनी वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताए।
अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा भएको उनको भनाइ छ। वर्षाको समयमा बिरामी हुदाँ उपचारका लागि जानसमेत निकै समस्या हुने गरेको उनले बताए।
केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएका थिए।
त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो। सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताए।
भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ। बहुवानसम्म अहिले कच्ची सडक छ।
यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्र्याक खोल्न बाँकी छ।