काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ।
मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
उनले कोभिड-१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए।
‘कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्’ उनले भने। रासस