काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारी बस्ने ३३ वर्षीय सनोज गिरी भनिने रामकुमार गिरी रहेका छन्।
उनलाई महाशाखाबाट खटिएको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाट आज पक्राउ गरेको हो।
११ माघ २०६१ मा काठमाडौंको सामाखुशीमा जीवन लोहनीको कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही गिरी फरार रहेका थिए।
चितवन घर भई काठमाडौंको रानीबारी डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको थिए। त्यही विषयमा जीवन लोहनीको हत्या भएको थियो।
काठमाडौं जिल्ला अदालतले ११ असार २०६४ मा गिरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो।
त्यसलगत्तै फरार रहेका गिरी केही समय विदेशमा समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थिए।