सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई भन्यो– बैठक राख्ने कुरालाई प्रतिष्ठाको विषय नबनाऊँ

नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई भन्यो– बैठक राख्ने कुरालाई प्रतिष्ठाको विषय नबनाऊँ

पार्टीभित्र विवाद बढ्दै गइरहेका बेला नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई अविलम्ब बैठक राखेर विवाद समाधान गर्न भनेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– पार्टीभित्र विवाद बढ्दै गइरहेका बेला नेकपा केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई अविलम्ब बैठक राखेर विवाद समाधान गर्न भनेको छ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गर्दै नेतृत्वलाई बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेका छन्।

‘कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं,’ उनले भनेका छन्, ‘पार्टी एकताका बाँकी सबै कामहरु छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं।’

उनले पार्टीमा देखा परेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्नुपर्ने बताएका छन्।

‘संयम, धैर्य र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु,’ उनले भनेका छन्।

पार्टी एकता आजको आवश्यकता भएको भन्दै उनले पार्टी एकताको विकल्पै नभएको प्रष्ट पारेका छन्। ‘पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ । दराजमा सजाउनको लागि होइन । पार्टी एकताको समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निष्क्रिय बसेका छन्,’ उनले भनेका छन्, ‘पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँति रहेका छन्। यो दुःखद् पक्ष हो।’

तीन महिना, एक महिना, पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको भन्दै उनले विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरु वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? भन्दै नेतृत्वलाई प्रश्न गरेका छन्।

‘२६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित्त गरेको निर्णयसमेत आज पर्यन्त अलपत्र छन्। निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन। बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ,’ आयोगले भनेको छ।

दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भर्त्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु आउने गरेको भन्दै आयोगले यो गम्भीर चिन्ताको विषय भएको बताएको छ।  

‘विधि र पद्धति पार्टीका प्राण हुन्। पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन। यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि, पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन नितान्त आत्मकेन्द्रित भएर सोच्दैछौं,’ आयोगका अध्यक्ष बोहराले विज्ञप्तिमा भनेका छन्। 

प्रकाशित: Nov 09, 2020| 08:42 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।