काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि यसअघि गठित कार्यदलले प्रधानमन्त्रीसँग छलफल गरिरहेको छ।
विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरु छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। छलफलका लागि ओलीले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन्।
छलफलमा नेकपाभित्र देखिएको विवाद समाधानका लागि विकल्प खोजिने बताइएको छ। यसअघि देखिएको विवाद समाधान पनि कार्यदलले नै दिएको प्रतिवेदनपछि टुंगो लागेको थियो।
तर कार्यदलको सुझावका आधारमा भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयन नभएकाले पुनः पार्टीमा विवाद चुलिएको हो।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै आवश्यक छलफलका लागि सचिवालयको बैठक बस्नुपर्ने बताउदै आएका छन्।
तर, प्रधानमन्त्री केपी शर्मा ओली भने बैठक बोलाउन राजी भएका छैनन्।
बैठक बोलाउनुपर्ने मागसहित शनिबार सचिवालयका बहुमत सदस्यहरुले लिखित रुपमा नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेका छन्।
नेताहरुले आजसम्म बैठक बोलाइनुपर्ने माग राखेका थिए।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि सहयोग गर्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए।
तर, उक्त छलफलमा पनि ठोस निष्कर्ष भने निस्कन सकेन्।
कार्यदलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन्।
यसैबीच बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि कार्यदलका संयोजक एवम् महासचिव विष्णु पौडेलले खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशसहित खुमलटार पुगेका महासचिव पौडेलले पछिल्लो समय देखा परेको संकट समाधानका बारेमा छलफल गरेको बुझिएको छ।
तर, के के कुराकानी भयो भन्ने कुरा दुवै पक्षबाट खुलाइएको छैन।