काठमाडौं- अमेरिकी आम चुनावबाट राष्ट्रपति पदमा विजयी जो बाइडेनले ह्वाइट हाउस प्रवेशको प्रक्रियामा पहिलो कदम अगाडि बढाएका छन्।
डेमोक्रेट्स पार्टीले सत्ता हस्तान्तरणको प्रक्रियालाई आफ्नातर्फबाट सुरु गरेको पनि छ। उता ट्रम्प भने अझै हार स्वीकार गर्न अस्वीकार गरिरहेका छन्।
जो बाइडेन र कमला ह्यारिसले बिल्डब्याकबेटर डट कम नामको वेबसाइट बनाएका छन् र @transition46 नामको ट्विटर ह्याण्डल चलाउन सुरु गरेका छन्।
नयाँ प्रशासनको उद्घाटन समारोह २० जनवरी २०२१ मा हुनेछ। यसका लागि अझै ७३ दिन बाँकी छ। चुनाव र उद्घाटनका बीचको समयलाई ‘ट्रान्जिसन’ भनिन्छ। तर उता, ट्रम् भने चुनावको परिणामप्रति शंका व्यक्त गर्दैे आफ्नो हार स्वीकार गर्न गाह्रो मानिरहेका छन्।
बाइडेनको जितका लागि विश्वभरका नेताहरुले शुभकामना दिइरहेका छन्। बाइडेन र कमलाका समर्थक उत्सब मनाइरहेका छन्। ‘ट्रान्जिसन’ अवधिका लागि वेबसाइट र ट्विटर ह्याण्डल लञ्च भएको छ। ट्रम्प भने आइतबार गल्फ खेल्दै गरेका थिए। शनिबार पनि उनी वाशिङटन नजिकैको गल्फ कोर्समा गल्फ खेल्दै थिए।
राष्ट्रपतिको निर्वाचनमा जितका लागि कम्तिमा पनि २७० इलेक्टोरल मत चाहिन्छ र बाइडेनले २७९ इलेक्टोरल मत पाइसकेका छन्।
आइतबार ट्रम्पले एउटा ट्विट गरेर प्रश्न गरेका थिए, ‘हाम्रो आगामी राष्ट्रपति को हुन्छ भने मिडियाले कहिलेदेखि निर्णय गर्न थाल्यो?’
अमेरिकी मिडियाका अनुससार आउने साता ट्रम्पले मुद्दा दायर गर्ने योजना बनाइरहेका छन्। उनका वकिल रुडी गुलियानीले आफूहरुसँग चुनावमा ‘धाँधली गरिएका कैयन प्रमाण’ भएको बताएका छन्।
तर, पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले ‘नतिजा स्पष्ट’ रहेको प्रतिक्रिया दिएका छन्। उनले बाइडेन र कमला ह्यारिसलाई बधाई दिइसकेका छन्।
बाइडेनको ट्रान्जिसन वेबसाइटमा चार प्रमुख मुद्दालाई प्राथमिकतामा राखिएको छ। जसमा कोभिड– १९, अर्थव्यवस्थामा सुधार, नस्लीय समानता र जलवायु परिवर्तन समावेश छन्।
बाइडेनले अमेरिकाको ४६ औंं राष्ट्रपतिका रुपमा २० जनवरी २०२१ मा सपथग्रहण गर्ने छन्।
२० नोभेम्बरमा बाइडेन ७८ वर्षका हुनेछन्। उनी राष्ष्ट्रपति पदका लागि निर्वाचित सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्।
कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपति हुनेछिन्।
एपी/रोेयटर्स