शनिबार, जेठ १६, २०८३

गाउँमा बजार पस्यो, खाइदियो रैथाने बाली

बजारका तयारी सामग्री किनेर खाने सजिलो बाटो रोज्दा गाउँको उत्पादकत्व घटेको मात्रै छैन, किसानलाई अल्छी बनाएको छ। यसको परिणाम गाउँगाउँबाट रैथाने बाली हराउँदै गएका छन्। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

सल्यान– मध्यपहाडी जिल्ला सल्यानको बागचौर नगरपालिका–१० का नन्दराम खत्रीको बारीमा दशक अघिसम्म दुई मुरीसम्म कोदो फल्थ्यो। त्यसले स्वाद फेरेर उनको परिवारले वर्षभरी ढिँडो र रोटी खान्थे। विवाह पूजाआजालगायत शुभकार्यमा पनि आफैंले फलाएको कोदो प्रयोग गर्थे।

National life

खत्रीका अनुसार गाउँभर कोदो नरोप्ने घरै हुन्नथ्यो। लहलह फलेका कोदो काट्ने र भित्र्याउन असोज–कात्तिकमा भ्याइनभ्याइ हुन्थ्यो। यो बेला भित्र्याउँदा र असारमा कोदो रोप्दा अर्मपर्म चल्थ्यो। ‘दुई चार घरका मिलेर आज मेरोमा, भोलिको अर्कोमा काट्थ्यौं,’ उनी सम्झन्छन्, ‘आजकाल त गाउँमा कोदो देखिनै छोड्यो। ढिँडो, रोटी त टाढाको कुरा– विवाह–वर्तबन्धमा चाहिने थोरै बाचा पनि पाइँदैन।’  

खेतैभरि कागुनो फल्दा सिद्धकुमाख गाउँपालिका–३ का महेश बुढाथोकीको मन फुरुंग हुन्थ्यो। आलोपालो गरी गाउँलेले कागुनो रोप्थे। जेठ–असारमा लहलह झुलेर पाक्ने कागुनो माघमा खनजोत गरी फागुनमा रोप्थे। 

बागचौर नगरपालिका १० कै मोतीलाल अधिकारीका अनुसार शारदा नदीको किनारका खेतमा असोज, कात्तिकमा पहेंलपुर तोरीका फाँट देखिन्थे। पाखाबारीमा समेत तोरी रोपिन्थ्यो। पारीपट्टी गैराबेत गाउँ पनि पहेंलपुर हुन्थ्यो। दसैं, तिहारको बेला फुल्ने तोरीले गाउँमा नयाँ रंग थप्थ्यो।

‘अहिले खेतबारी बाँझो छ, भएको अलिअलि जमिन घरघर पुर्‍याएको सडकले मास्यो,’ अधिकारी भन्छन्, ‘पहिलेपहिले एक थोपा तेल किन्नु पर्दैन्थ्यो, अहिले बजारकै तेलको भरमा चलेको छ।’ नयाँ पुस्ताले दुःख गर्न छोडेर किनेर खाने बानी बसालेकोले पुरानो बाली देखिन छाडेको उनको बुझाइ छ। 

Shivam cement

केही समय अघिसम्म सल्यानमा लट्टे नरोप्ने सायदै कुनै घर थियो। जौ र फापर प्रशस्त हुन्थ्यो। मौसमअनुसार रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, जुनेलो, आँगा, गुडुरा, गौरिया, सर्सु, गहत, जौधान, घैयालगायतका बाली सबैको खेतबारीमा देखिन्थे। सल्यानको माथिल्लो भेगमा फल्ने रैथाने जातका सिलाम, जुनेलो, उवा र तिते फापरलगायत बाली लोपै भइसकेका छन्।

अहिले फाटफुट्ट तोरी बाहेक अन्य बाली हराइसक्यो। ‘गहुँ, धान र मकै बाहेकका बालीको खेती हुनै छाड्यो,’ बुढाथोकी भन्छन् ‘गाउँमा खेती गर्ने युवा छैनन्, भएकाले पनि किनेर खान थाले।’ परम्परागत शैलीमा खेती गर्नुभन्दा देशमा वा विदेशमा गरिएको रोजगारीबाट बढी फाइदा हुने भएकोले पनि किनेर खाने चलन बढ्न थालेको उनको बुझाइ छ। 

बुढाथोकीकै तीन छोरा मध्ये दुई जना खाडी मुलुक छन्। एक जना घरमा खेतीपाती गर्छन्। पहिलेपहिले मौसमअनुसार कोदो, तोरी, मकै, गहुँ, जौं, धान फलाउने बुढाथोकी परिवारले आजकल बर्खामा धान र मकै अनि हिउँदे बालीको रुपमा गहुँ मात्रै फलाउँछन्। दुःख गरेअनुसारको फाइदा नहुने भएकोले पनि थरीथरीका अन्न रोप्न छोडेको बुढाथोकीको भनाइ छ। 

जिल्ला कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार जिल्लाभर ८७ प्रजातीका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन्। कार्यालयका वरिष्ठ कृषि अधिकृत कमलराज घिमिरे रैथाने बालीको महत्व र फाइदा थाहा नहुँदा खेती हुन छोडेको बताउँछन्।

‘रैथाने बालीले दिने फाइदा र यसको महत्व थाहा नभएर सबै हाइब्रिड जातको पछि लागेको देखिन्छ,’ उनी भन्छन्, ‘उत्पादन कम हुने भएकोले पनि रैथाने बाली हराएको हो।’ कार्यालयले स्थानीय सरकारसँग मिलेर रैथाने बाली जोगाउने अभियान सुरु गर्ने तयारी गरेको उनको भनाइ छ।  

रैथाने बाली हराए नेपाली पहिचान हराउने घिमिरेको भनाइ छ । ‘रैथाने बाली हराउनु भनेको जैविक विविधता हराउनु हो,’ उनी भन्छन्, ‘हाम्रो जस्तो जैविक विविधता भएको मुलुकमा रैथाने बाली आवश्यक छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ।’ कतिपय रैथाने प्रजाती ठाउँ विशेषको हुने अर्थात् एक ठाउँको बाली अर्को ठाउँ नफल्ने भएकोले पनि यस्ता बालीको संरक्षण आवश्यक भएको उनको भनाइ छ। 

बीउ साँच्ने चलन हरायो 

पिपलनेटाकी कमला रेग्मीले कालो हिउँदे सिमीको बीउ गाउँभरि डुल्दा पनि पाइनन्। असोजमा रोपी सक्नुपर्ने सिमीको बीउ गाउँमा नपाएपछि रोल्पाको पाखापानीबाट ल्याउन लगाइन्। उनका अनुसार कालो सिमी, हिउँदे बोडी, सानो गोलभेडालगायतको बीउ पनि पाइन छोडेको छ।

‘लगाउन खोजेको बालीको बीउ पाउन छोडिसक्यो,’ उनी भन्छिन्, ‘काठे बीउ नपाएपछि बजारको विकासे बीउ भए पनि रोप्नैप¥यो।’ कम फले पनि काठे जातका बालीको खाना मिठो हुने उनको भनाइ छ। 

आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि बीउ साँचेर राख्ने चलन हराएको छ। रेग्मी भन्छिन्, ‘हिजोको दिनमा एउटाको घरमा एउटा चिजको बीउ हुन्थ्यो अर्कोको घरमा अर्को। मागेर, साटफेर गरेरै काम चल्थ्यो, अहिले त बीउ राख्ने चलन नै हराइसक्यो।’ 

करिब दशक अघिसम्म गहत, सर्स्युँ, कालो र रातो सिमीलगायत गरेर वर्षमा ५० हजारसम्मको बिक्री गर्ने पिललनेटाका सोमबहादुर ढकालले अहिले आफैंले उत्पादन गरेका सुन्तला र कागतीका बिरुवा बेच्ने गरेका छन्। ‘सिमी, सर्स्युँलगायत आजकाल कसैले खोज्दैन, लगाएर मात्रै के गर्नु,’ उनी भन्छन्, ‘त्यसैले कागती, सुन्तला, अमिलोलगायतको बिरुवा हुर्काएर बेच्न थालेको छु।’ 

अघिल्लो वर्ष कोही छिमेकीले लगायो र राम्रो फल्यो भन्ने हो भने अर्को वर्ष सबैलाई त्यही बीउ चाहिन्छ। उनका अनुसार गाउँमा झिलिंगी, गहत र रातो सिमी हराएको त वर्षांै भइसक्यो। रैथाने तरकारी र अन्नबालीको बीउ पाइनै छाडेको छ। धानकै कुरा गर्दा छोटे, कालो नुमी, जरन, अनदी, पात्ले, हंसराज जातको बीउ पनि पाइँदैन। सबैले हाइब्रिड जात मात्रै रोप्न थालेका छन्। 

बजारमा बर्सेनि अन्न र तरकारीका नयाँ जातका बीउ आउन थालेपछि कृषकको आकर्षण त्यतै छ। यसले गर्दा पनि रैथाने बाली लोप भएका छन्। जानकारहरूका अनुसार जनशक्ति अभाव र गरेको खेतीबाट लागत नउठ्ने भएकोले पनि किसान नयाँ बालीतिर आकर्षित भएका छन्। बजारको भर परेका किसानमा आफूले बीउ नराख्ने चलन बढेकाले पनि पुराना बीउ हराएका हुन्।

कृषि अधिकृत घिमिरे अन्न र तरकारीका रैथाने बीउभन्दा थोरै जमिनमा बढी उत्पादन दिने बीउ लगाउने चलनले नयाँ जातमा आकर्षण बढेको बताउँछन्। ‘पहाडी भेगमा यसै पनि तराईको भन्दा उत्पादकत्व कम हुन्छ,’ उनी भन्छन्, ‘नयाँ जातको लगाउँदा केही वर्ष राम्रो फल्ने भएकोले पनि कृषकको रोजाइ फेरिएको हो।’ कृषिमा आधुनिकीकरण गरेरै रैथाने बाली जोगाउन सकिने उनी सुझाउँछन्।

प्रकाशित: Nov 09, 2020| 04:20 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।