सोमबार, भदौ १५, २०८३

मानहुँकोटमा दैनिक ३ सय पर्यटकमात्र जान पाइने

तनहुँको पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३ सय जनाभन्दा बढी पर्यटक जान नपाइने भएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

पोखरा- तनहुँको पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३ सय जनाभन्दा बढी पर्यटक जान नपाइने भएको छ।

आन्तरिक पर्यटकको ओइरो नै लाग्न थालेपछि सम्भावित जोखिम रोक्न व्यास नगरपालिकाले आइतबार यस्तो निर्णय गरेको हो। आइतबार मानहुँकोटमै बसेको नगर कार्यपालिकाको बैठकले यो निर्णय गरेको मेयर वैकुण्ठ न्यौपानेले बताए। 

कोरोना संक्रमणको महामारी फैलिएका बेला भीड बढेपछि त्यसको व्यवस्थापनका लागि दर्ता गरेर मात्र पठाउने गरी निर्णय गरिएको मेयर न्यौपानेले जानकारी दिए। मानहुँकोट अवलोकनका लागि दर्ता शुल्क भने लाग्ने छैन। 

टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा मानहुँकोटको मनोरम दृश्यको प्रचार भएपछि शनिबार मात्रै देशका विभिन्न ठाउँबाट मानहुँकोटमा हजारौ पर्यटक पुगेका थिए। पहिले पनि पर्यटकको आवतजावत हुने गरेकोमा शनिबार अहिलेसम्मकै धेरै पर्यटक पुगेको स्थानीय बताउँछन्। 

व्यास नगरपालिका ५ मा पर्ने मानहुँकोटमा तत्कालका लागि जग्गा किनबेचमा पनि नगरपालिकाले रोक लगाएको छ। नगर प्रवक्तासमेत रहेका व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार मानहुँकोटमा अबको २ महिना जग्गा किनबेचमा रोक लागाउने निर्णय भएको छ। 

आन्तरिक पर्यटक बढेसँगै जग्गा किनबेच हुन थालेपछि सम्भावित चलखेल रोक्न हालका लागि यस्तो निर्णय गरिएको उनले जनाए। १ महिनाभित्र मानहुँकोटको गुरुयोजना तयार गर्ने, खानेपानीका लागि योजना बनाउने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने लगायत निर्णय कार्यपालिका बैठकले गरेको छ। 

सरसफाइको प्रवन्ध गर्ने र सार्वजनिक शौचालयका लागि तत्कालै २५ लाख रुपैयाँ निकास गर्ने निर्णयसमेत बैठकले गरेको छ। सरसफाईका लागि नगरपालिकाले एक जना कर्मचारी पनि खटाउने भएको छ। 

मानहुँकोट पुग्न कच्ची सडक खुलिसकेको छ। अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन्। ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन्। रोड पक्की हुँदैछ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गत वर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौं।’

उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए।

तनहुँ सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानहुँकोट प्राकृतिक दृष्यावलोकन गर्न रुचाउनेहरुका लागि राम्रो गन्तव्य हो। साविक जामुने गाविस १ मा पर्ने मानहुँकोट हाल व्यास नगरपालिका ५ मा पर्छ। सदरमुकाम दमौलीबाट मोटरसाइकलमा करिब २० मिनेट, बसमा करिब आधाघन्टा र पैदल एकदेखि सवा एक घण्टामा मानहुँकोट पुग्न सकिन्छ। 

प्रकाशित: Nov 08, 2020| 14:27 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।