काठमाडौं– मकवानपुरको बकैयाका २० वर्षीय विकास वाईवाको हत्यामा संलग्न आरोपीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले २४ घन्टामा पक्राउ गरेको छ।
घटना लगत्तै फरार भएका २० वर्षीय शंकर भनिने भीमराज भोलनलाई प्रहरीले ललितपुर बागमती गाउँपालिका २ माल्टाबाट पक्राउ गरेको हो।
घटनापछि मकवानपुर प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो।
फरार रहेका उनलाई माल्टाका स्थानीय वासिन्दालाई शंका लागेपछि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२१ कात्तिकमा दिउँसो साढे ३ बजे मकवानपुर बकैया गाउँपालिका ४ स्थित सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा भीमराजले साथमा बोकेको खुकुरीले प्रहार गरेर विकासलाई घाइते बनाएका थिए।
त्यसपछि घाइते युवकलाई लखटेर शरीरको विभिन्न भागमा प्रहार गरी घाँटी छिनाई शरीरबाट टाउको अलग गरी हत्या गरेका थिए।
पक्राउ परेका अभियुक्तलाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो