चितवन- हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ।
आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा-६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए।
लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गरेको हो।
हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए।
धामीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिए।
राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो। भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा आक्रमण हुनेसमेत लामिछानेको भनाइ छ। रासस