चितवन- चितवन राष्ट्रिय निकुञ्जमा साउन यता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन्। यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो। आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन्। दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्तावस्थामा फेला परेको थियो। टाउकोमा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो। हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेको अवस्थामा फेला परेको छ।
दुवैको खाग तस्करले लगेको बरालले बताए। एउटै समयमा तस्करको आक्रमणको निशानामा तीनवटै गैँडा परेको अनुमान छ। माउ र बच्चाको खाग लगेकोे भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ।
यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ। बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुनसक्ने बताए। सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीहरुको अनुमान छ।
निकुञ्जमा चोरी शिकारीले विगत चार वर्षयता गैँडा मार्न सकेका थिएनन्। विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए। गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए।
निकुञ्जमा चोरी शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिए। बरालले भने, ‘हामीले दक्ष जनशक्ति माग गरेका छौँ।’ सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। एकाएक चोरी शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ।
प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए। निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ। निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन्। यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए। निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन्। यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। रासस