सोमबार, भदौ १५, २०८३

जनप्रतिनिधिलाई सुझाव- बरु जान्दिन भन, झुटो नबोल 

राजनीतिक दलका अगुवाले दिने अभिव्यक्तिबाट जनता प्रभावित हुन्छन्। जनता उनीहरुबाट साँचो र आधिकारिक सूचना चाहन्छन्।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

पोखरा – विश्वभर कोरोना महामारी फैलिइरहेका बेला केही महिनाअघि मलेसियाका स्वास्थ्यमन्त्रीले एक टिभीसँगको अन्तवार्तामा भनेका थिए, ‘तातो पानी पिउँदा घाँटीबाट कोरोना भाइरस पेटमा जान्छ र मर्छ।’ लामो समय चिकित्सा क्षेत्रको अभ्यास गरेका ती मन्त्रीको भनाइप्रति पत्रकारले कुनै प्रतिक्रिया जनाएनन् बरु स्वीकारोक्तिमा टाउको हल्लाइरहे। त्यही अभिव्यक्तिका कारण ती स्वास्थ्य मन्त्री भोलिपल्ट बर्खास्त भए। 

– भारतको आसामकी एक विधायीकाले गोमुत्र सेबनबाट कोरोना निको हुने भनाइ राज्यसभाकै बैठकमै राखिन्। उनको उक्त भनाइको खण्डन गर्न सरकारले आवश्यक नै ठानेन। 

– अखिल भारत हिन्दू महासभाले कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै पार्टी नै गरेर गोमुत्र सेवन गर्न लगायो। मुत्र सेवन र पानीमा गोबर घोलेर नुहाउँदा पनि कोराना भगाउन सकिने प्रचार त्यहाँ गरियो। 

– नेपालमै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खाएर कोरोना भगाउन सकिने भनाइ सार्वजनिक गरे। यो अभिव्यक्तिप्रति निकै टिकाटिप्पणी भए। 

राजनीतिक दलका अगुवाले दिने अभिव्यक्तिबाट जनता प्रभावित हुन्छन्। जनता उनीहरुबाट साँचो र आधिकारिक सूचना चाहन्छन्।

अझ महामारी जस्ता संकटका बेला त उनीहरुको थप दायित्व हुन्छ समयमै सही सूचना प्रवाह गर्ने। यस्तो अवस्थामा जनप्रतिनिधिले कसरी प्रभावकारी सञ्चार गर्ने भन्नेबारेमा विश्व स्वास्थ्य संगठनको सहयोगमा गण्डकी प्रदेश सभाका सांसदसँग बिहीबार पोखरामा अन्तरक्रिया सम्पन्न भएको छ। 

अन्तर्क्रियामा कोरोना भाइरसले महामारीको रुप नलिँदै यसको बारेमा फैलिएका भ्रम र अफवाह अनि जनताको सूचनाका केन्द्रसमेत रहेका जनप्रतिनिधिले निभाएको भूमिकाको बारेमा लामै चर्चा भयो। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सुनुर बर्माले जनप्रतिनिधिले नै अफवाह फैलाएकोदेखि सूचना प्रवाहमा भएका गल्तीहरुको बारेमा प्रस्तुति दिए। सूचना प्रवाहमा भएका गल्तीलाई रोक्नेबारेमा सुझाव पनि दिए।

डा. बर्माले भने, ‘अपेक्षाअनुसार हाम्रो देशमा पूर्वाधार छैनन्। अर्को कुरा हाम्रो जस्तो देशमा असन्तुलन छ, उमेरको असर छ।

संस्कारमा ठूलो मानिसले भनेको नकार्दैनौं। हजुरबुबाले मास्क हटाउन भनेमा हामी मान्छौं। हाम्रो घरमा काम गर्ने सहयोगी छन् भने उनीहरुले हामीलाई त्यो नगर भन्दैनन्। हामीबिचको सन्तुलन एउटै छैन। यस्ता संस्कारले पनि हामी कहिल काँही सही कुरा पनि स्वीकार नगरिरहेका हुन्छौँ’ 

गत वर्षको अर्थ शास्त्रका नोबेल पुरस्कार विजेताले गरेको खोजको दृष्टान्त दिँदै उनले भने, ‘मुख्य समस्या भनेको हामीले गरिबले के सोचेका छन् भन्ने थाहा छ जस्तो व्यवहार गर्छौं। गत साल अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका उनीहरुले गरिबहरुले कसरी सोच्छन् भन्ने अध्ययन गरेका थिए।

त्यो अध्ययनका लागि हार्बड विश्वविद्यालयका ५० विद्यार्थीलाई अफ्रिकाका गरिब परिवारको बारेमा अध्ययन गर्न पठाइएको थियो। उनीहरुले गरिबलाई केही सोध्न पाउँदैनथे, क्रियाकलाप अवलोकन गर्न मात्र पाउँथे। त्यसैले हामीले गरिबहरुको बारेमा सोच्ने धारणा गलत छ।’ 

उनका अनुसार हार्वडका विद्यार्थीले गरेको अनुसन्धानको प्रतिवेदनले भन्छ, ‘गरिबहरुले संकटका बेलामा जनप्रतिनिधिलाई नियालेर, विचार गरेर सुनिरहेका हुन्छन्, आधिकारिक स्रोतको विकल्प नभएका कारण जनप्रतिनिधिलाई हेरिरहेका हुन्छन्।’

डा. बर्माले सांसदहरुलाई सुझाव दिँदै भने, ‘नागरिकले दुई तरिकाले जनप्रतिनिधिलाई जज गरेका हुन्छन्, कति छिटो जानकारी दिने र दिएको जानकारी सत्य छ कि छैन।’

बर्माले जनप्रतिनिधिलाई सूचना कसरी सम्प्रेषण गर्ने भनेरसमेत सूझाव दिए। उनले भने, ‘मिश्रित र अस्पष्ट सन्देश प्रवाहले नकरात्मक प्रभाव पार्ने गरेको छ। कोभिडको परिवर्तनकारी गुणले पनि हरदिन, हरहप्ता नयाँ कुराहरु आइरहेका छन्। आज के सत्य हो भने अर्को हप्ता त्यो सत्य नहुन सक्छ। दिनहुँ जानकारी फेरिएका छन्। सुरुमा नै जनतालाई आज भनेका कुरा सत्य नहुन सक्छ, भोलि फरक कुरा आउन पनि सक्छन् भनेर भन्नुपर्छ।’ 

९ महिनाअघि विश्व स्वास्थ्य संगठन नै मास्क लगाउने वा नलगाउने भन्ने बारेमा आफैमा अनिश्चित रहेको उदाहरणसमेत बर्माले दिए।
उनले थपे, ‘पुष्टि भइसकेका तथ्यमा मात्र बोल्नु होला, सँगै के के गर्न सकिन्छ, चाल्न सकिने कदमको बारेमा पनि भन्नुहोस्, जनतामा आफ्नो भरोसा बढोस् भन्ने चाहनुहुन्छ भने थाहा नभएको कुरा थाहा छैन भनिदिनुहोस्,’ उनले भने। मलाई थाहा छैन भनेपछि त्यतिमै नरोकिएर त्यसबारेमा तथ्य पत्ता लगाउन पनि उनले आग्रह गरे।

उनले भने, ‘एउटा ठूलो चुनौती यसकारणले पनि हो कि, हामी निकै व्यस्त हुन्छौं,’ आफूले गरेका कुरा भन्न पनि भ्याउँदैनौं, जनताले प्रतिबद्धता सुन्न चाहन्छन्, तपाइले के गर्दै हुनुहुन्छ, गरिराख्नुभएको छ त्यो पनि भन्नुहोस्, केही भन्नेबित्तिकै तपाइले थप जानकारी कहाँ पाउन सकिन्छ भन्ने बारेमा पनि आधिकारिक जानकारी पाउने स्रोत भन्नुहोस्।’ 

सांस्कृतिक समस्याका कारणलाई उनले अर्को समस्यामा राखे। ‘शक्तिमा भएपछि शक्तिमा नभएका मानिसहरुलाई के चाहिन्छ भन्ने हामीलाई थाहा छ भन्ने सोच हो। विकसित देशका डाक्टरमा पनि त्यो छ,’ उनले उल्लेख गरे। डाक्टरहरु बिरामीलाई के भएको छ भन्नेभन्दा पनि के गर्ने भन्नेतर्फ सोच्ने भए पनि जनप्रतिनिधि आफ्नो निष्कर्षमा कसरी पुगेको हो त्यसबारेमा जनतालाई पनि बताउन उनले आग्रह गरे। 

संकटको बेलामा नकारात्मक नै सही तर वास्तविकता बताउनुपर्नेमा उनले जोड दिए। नआत्तिनुहोस, केही भएको छैन भनेर जनप्रतिनिधिले सूचना प्रवाह गर्दा जनताले सत्य थाहा छैन अथवा झुट बोलेका छन् भन्ने सोच्न सक्ने हुँदा वास्तविकतालाई बताउन उनले सुझाव दिए।

गलत सूचनाको तत्कालै प्रतिकार र खण्डन गर्नुपर्ने, खण्डन नगर्दा अर्को व्यक्तिले फाइदा उठाउनसक्ने तर्फ ध्यान दिन उनले आग्रह गरे। आपतकालीन अवस्थामा शक्ति संघर्षको खेल हुँदा जनताले मन नपराउने अर्को सुझाव उनको थियो। प्रमाणित सूचना, सोसल मिडिया वा प्लेटफर्मबाट छिटो प्रवाह, सहानुभूति देखाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा डा. विनोदप्रसाद गुप्ताले कोरोना भाइरसको उत्पत्तिदेखि लक्षणहरुको बारेमा बताए। 

अन्तरक्रियामा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस्ता कार्यक्रम फलदायी र प्रभावकारी हुने बताए।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले ढिलै भए पनि सही कार्यक्रम ल्याइएको बताए। कार्यक्रममा सहभागी प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले सुरुआती चरणमा हटस्पट बनेको प्रदेश २ मा पहिले नै यस्तो अन्तरक्रिया राखिएको भए तुलनात्मक रुपमा कोभिड न्यूनिकरणमा सचेतनामूलक प्रभाव पर्ने उनले बताए।

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सचेतना फैलाउन सहयोग गर्ने तर सरकारले भने जनताको स्वास्थ्यलाई त्यति चासो नदिएको प्रतिक्रिया दिए। सरकारकै अकर्मण्यताले जनप्रतिनिधिप्रति जनताको विश्वास गुम्ने खतरा रहेको हुँदा सरकारले बेलैमा सही कदम चाल्न उनले सुझाव दिए। 

गण्डकीका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उपकरण खरिद गर्न खोजिएको तर अन्तर्राष्ट्रियस्तरमा नै सामान अभाव रहेका कारण ढिलाइ भइरहेको र सरकार गम्भीर रहेको जवाफ दिइन्। 

प्रकाशित: Nov 07, 2020| 09:20 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।