सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान

ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज (शनिबार) एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका हुन्।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरणका लागि गत भदौ १६ गतेदेखि महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ।

सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको हो।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हरजनको हर परिस्थितिको साहारा, अत्यन्तै प्रिय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताए। 

उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए। 

उक्त कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए।

कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा, काठमाडौं महानगरपालिकाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोखरेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो।

महाशाखाले गीत संगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउन ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम् ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरिएको छ।

सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिबाटिका, कंलकी र गोँगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ। दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ।

प्रत्येक आधा घण्टामा कम्तिमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजार भन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ। यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ। 

जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरुले आ–आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रवाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ। अभियानलाई अझ प्रभावकारी बनाउदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगितिक डमी राख्दै लैजाने योजना रहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारवाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ।

प्रकाशित: Nov 07, 2020| 08:30 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।