काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यहरुले दुई दिनभित्रमा बैठक राख्न प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई लिखित रुपमा आग्रह गरेका छन्।
शुक्रबार र शनिबार दुईदिन धुम्बाराहीमा अनौपचारिक छलफल गरेका बहुमत सदस्यहरुले आज प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर लिखित रुपमा आग्रह गरेका हुन्।
‘आज हामीले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा केन्द्रीय सचिवालयको बैठकका लागि सहमतिका निम्ति आग्रह गरेका छौं,’ प्रधानमन्त्रीसँगको भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले बैठकका बारेमा आज निश्कर्ष दिनुभएन।’
लिखित रुपमै नेताहरुले सकभर भोलि वा पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरेका हुन्।
‘पार्टी एकतालाई जोगाउनेलगायतका विषयमा निष्कर्ष निकालौं भनेर भनेका छौं,’ उनले भने, ‘हामीले देशमा कोरोना भाइरसको संक्रमण, त्यसले नागरिकको स्वास्थ्यमा संकट, आर्थिक संकटलगायतका विषयमा सम्बोधन गर्ने विषयमा पनि छलफल गर्न आग्रह गर्यौं।
उनका अनुसार स्थायी कमिटीले गरेका निर्णयका कार्यान्वयन गराउन र पार्टीमा उत्पन्न संकटका सन्दर्भमा छलफल गरेर पार्टी एकताको रक्षा गर्दै निर्णय कार्यान्वयन अगाडि बढाउनका लागि ध्यानाकर्षण गराइएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार सचिवालयको बैठक बसाल्न आग्रह गर्दै आए पनि ओलीले अटेर गर्दै आइरहेका छन्।
प्रधानमन्त्री ओलीले बैठक राख्न सहमति आनाकानी गर्दै आएपछि सचिवालयका बहुमत सदस्यहरुले दुईदिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेका हुन्।
कार्यकारी अध्यक्ष दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल गरेका हुन्।
छलफलमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल भने सहभागी भएनन्।
सत्तारुढ दल नेकपाभित्र शुरु भएको विवाद चुलिएको छ। नेताहरुले पार्टी कमिटीका बैठक मार्फत् समस्या समाधान गरिनुपर्ने बताउदै आए पनि त्यसमा ओली पक्ष भने सहमत हुन सकेको छैन।