काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख २३ हजारभन्दा धेरै ब्यक्ति संक्रमित भएका छन् ।
एकै दिनमा यति धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएको यो पहिलो पटक हो । यसअघि कात्तिक २० गते बिहीबार ६ लाख १७ हजार ब्यक्ति संक्रमित भएका थिए । त्यसअघि कात्तिक १४ गते ५ लाख ६७ हजार ९ सय ब्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय संक्रमणदर झनै तिब्र गतिमा बढेको छ । युरोप र अमेरिकामा दोस्रो लहरको संक्रमण देखिन थालेसँगै कोरोना भाइरस थप फैलिएको हो ।
वर्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा थपिएका छन् । जहाँ १ लाख ३२ हजार ५ सय ४० ब्यक्तिमा एकै दिनमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै फ्रान्स, भारत, इटाली, बेलायत स्पेन, जर्मनी, पोल्यान्ड, ब्राजिलमा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ६० हजार ४ सय ८६, भारतमा ४९ हजार ८ सय ५१, इटालीमा ३७ हजार ८ सय ९, पोल्यान्डमा २७ हजार ८६, बेलायतमा २३ हजार २ सय ८७, स्पेनमा २२ हजार ५ सय ८२, जर्मनीमा २२ हजार २ सय ८६ जना संक्रमित थपिएका छन् ।
यस्तै रुसमा थप २० हजार ५ सय ८२, ब्राजिलमा १८ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जना संक्रमित थपिएका छन् ।
एकै दिनमा ९ हजार ८२ जनाको मृत्यु
तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ८२ जनाको मृत्यु भएको छ ।
यो अहिलेसम्मकै उच्च मृत्युदर हो । पछिल्लो समय संक्रमण दरसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ । बर्डओमिटरका अनुसार बिहीबार ८ हजार ७ सय ९४ जनाको मृत्यु भएको थियो भने बुधबार ९ हजार ५९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय ४८, फ्रान्समा ८ सय २८, भारतमा ५ सय ७६, मेक्सिकोमा ५ सय ४४, इटालीमा ४ सय ४६, पोल्यान्डमा ४ सय ४५, इरानमा ४ सय २४, बेलायतमा ३ सय ५५ जनाको मृत्यु भएको छ ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर ४ करोड ९२ लाख ४७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ।