काठमाडौं– राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेपन गर्न सुरु भएको काम तीन वर्षदेखि अलपत्र छ।
विसं ०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरेर सुरु भएको काम अझै पूरा हुन सकेको छैन।
विसं ०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्रांगणमा महायज्ञ गरिएको थियो। महायज्ञबाट खर्च कटाएर तीन करोड बचेको थियो।
झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान सुरु भएको हो।
प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरी सकिएको छ। माथिका दुई तला सानो छ। सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर एक वर्षअघिदेखि अलपत्र छ। काम अघि बढ्न सकेको छैन।
गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ बजेट अभाव भएर काम रोकिएको बताउँछन्।
‘हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन सकिएको छैन,’ उनले भने।
अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि चालू आर्थिक वर्षका लागि नगरपालिकाले तीन करोड विनियोजन गरेको छ। नगरपालिकाले तीन चरणमा गरेर सुन किन्न लागेको जनाइएको छ।
नगरपालिकाले आव ०७५÷७६ मा पनि एक करोड बजेट विनियोजन गरेको थियो। आव ०७६÷७७ मा विनियोजन गरेको तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउछन्।
महायज्ञकै क्रममा २२ तोला सुन सहयोग स्वरुप संकलन भएको थियो। महायज्ञमै प्राप्त भाँडा बेचेर ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ।
विसं ०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन सुरु गरिएको थियो।
त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न सुरु भएको थियो। काम सुरु भएको तीन वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ। कोरोनाको महामारी सुरु भएदेखि नै काम अघि बढ्न सकेको छैन। कोरोनाकै कारण नगरपालिकाको बजेट नआउँदा समेत काम प्रभावित भएको हो।
मुख्य मन्दिरहरुमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ। मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन्।