काठमाडौं- देशभरको न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढेको छ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा आज बिहान घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
दोलखाको जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११, दिपायलको ९ दशमलव ८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
तापक्रम अझै घट्दै जाने महाशाखाले जनाएको छ । आज देशभर खुलेर घाम लाग्ने सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ ।