काठमाडौं– भारतको बिहार राज्यमा आज शनिबार विधानसभाको अन्तिम चरणको मतदान भइरहेको छ। आज १६ जिल्लामा ७८ सिटका लागि मतदान हुँदैछ जसमा सीमाञ्चल र मिथिलाञ्चल क्षेत्र पर्छन्।
तेस्रो चरणमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोकसमता पार्टी, असदद्दीनको बीएसपी र पूर्व सांसद पप्पु यादवको जन अधिकार पार्टीबीच मुख्य प्रतिस्पर्धा छ।
यसअघि २०१५ मा भएको निर्वाचनमा ७८ सिटमध्ये ५४ सिट जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेसको गठबन्धनले जितेको थियो।
बीजेपी, एलजेपी, आरएलएसपी र हिन्दूस्तान आवाम पार्टीको गठबन्धनले भने २४ सिटमात्र जितेको थियो। यसमा पनि सबैभन्दा बढी बीजेपीले १९ सिटमा बाजी मारेको थियो।
अहिलेको चुनावमा बीजेपीले ३५ र जेडीयूले ३७ जना उम्मेदवार खडा गरेको छ। मुकेश सहनीको विकासशील इन्सान पार्टीले पनि ५ जना उम्मेदवारको भाग्य परीक्षण गर्दैछ।
जनता दलले ४६ र कांग्रेसले २५ उम्मेदवार मैदानमा उतारेको छ।
नितिश कुमार सरकारका १२ मन्त्री पनि मैदानमा छन्।