काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटमा उनले यस्तो बताएका हुन्। भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको बताएका थिए।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीले सो अवसरमा कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका थिए।
‘प्रधानमन्त्रीले दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभयो,’ भेटपटछ उनले ट्विट गरेका छन्।
सो अवसरमा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए।
तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत सैनिक अधिकृतहरुको उपस्थित थियो।
भेटका विषयमा अन्य के के कुरा भयो भन्ने खुलाइएको छैन। तीन दिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आइपुगेका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदले सम्मान गरेकी थिइन्।
उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए। सो क्रममा भारतीय स्थल सेनाध्यक्ष नरवणेले नेपाली सेनालाई फिल्ड एम्बुलेन्स, भेन्टिलेटर प्रदान गरेका थिए। उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
भारतीय सेनाध्यक्ष नरवणे आजै आफ्नो तीन दिने भ्रमण सकेर स्वदेश फर्किदै छन्।