काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै गएपछि समाधानका लागि दोस्रो तहका नेताहरुले पहल सुरु गरेका छन्।
१० असारमा सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा विवाद चर्किएपछि समस्या समाधान गर्न नेकपाका दुई अध्यक्षले गठन गरेको कार्यदलका सदस्यहरु पुनः छलफलमा जुट्ने भएका हुन्।
कार्यदलका सदस्य रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कार्यदलका सदस्यहरु छलफल गर्ने तयारीमा रहेको जानकारी दिए।
‘पार्टीभित्रको समस्यालाई मिलाउन हिजोको कार्यदलका सदस्यहरुले अध्यक्षहरुलाई भेटेर कुरा गर्ने कि भन्ने छलफल गर्दैछौं’, उनले ट्विट गर्दै भनेका छन्।
नेता पाण्डेले ‘परिणाम जे आए पनि प्रयास भने जारी राख्नु राम्रो होला भन्ने लागेको’ धारणा सार्वजनिक गरेका छन्।
पार्टीभित्र पुनः विवाद देखा परेपछि नेताहरुको सक्रियता बढेको छ। यसअघि दुई अध्यक्षबीच बढेको विवाद समाधानका लागि गत ३० साउनमा नेकपाका महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।
कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए।
सोही कार्यदलले बुझाएको प्रतिवेदनपछि नै नेकपाभित्रको विवाद त्यतिखेर साम्य भएको थियो। कार्यदलकै प्रतिवेदनलाई २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेको थियो।
अहिले सोही बैठकबाट पारित भएका निर्णयहरु कार्यान्वयनमा समस्या आएपछि नेकपाभित्रको विवादले पुनः चर्को रुप लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्ने प्रयास भएको र कुनै पनि हालतमा राजीनामा नदिने अभिव्यक्ति दिएपछि नेकपाभित्रको शक्ति संघर्ष थप चर्किने देखिएको छ।
पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवाद, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट लगायतका विषयले नेकपामा विवाद चर्किएको हो।
दुई अध्यक्षबीच बिहीबार बालुवाटारमा एक घन्टा छलफल भएको थियो। छलफलमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई ‘राजीनामा कसैले नमागेको अवस्थामा बाहिर बाहिर किन अभिव्यक्ति दिएको?’ भन्दै आपत्ति जनाएका थिए। उक्त भेटपछि दुई अध्यक्ष बीचको दुरी झन् बढेको छ।