सर्लाही– जिल्लाको लालबन्दी नरगपालिकाका पाँच सय दलित तथा मुसहरको घर निर्माण हुने भएको छ।
छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ।
लालबन्दीका पाँच वटा वडामा पाँच सय घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिए।
जनता आवास कार्यक्रमअन्तर्गत नगरका पाँच वटा वडामा प्रतिवडा एक सय घर बनाइने भएको हो।
ट्रस मोडलमा बनाइने पाँच सय घर अतिविपन्न दलित समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जनता आवास कार्यक्रमका संयोजक तथा प्रदेशसभा सदस्य नीरा साहले बताइन्।
प्रतिघर निर्माण गर्न तीन लाख ५० हजारका दरले १७ करोड ५० लाख लाग्ने उनले बताइन्।
शौचालयसहित प्रत्येक घर निर्माणको लागत तीन लाख ५० हजार लाग्ने र त्यसबाहेक १० प्रतिशत श्रमदान गर्नुपर्ने छ। उनीहरुले काममा खटिएबापतको रकम पनि पाउने छन्।
आर्थिक वर्ष ०७७÷०७८ भित्रै सक्ने गरी प्रदेश सरकारले १७ करोड ५० लाख रकम उपलब्ध गराएको प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले जानकारी दिए।
अतिविपन्न दलित समुदायले आफ्नो घरसमेत बनाउन नसक्ने भएका कारण सघीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँच सय अतिविपन्न दलित समुदायको घर बनाईदिने भएको हो ।
अहिले करिब २५० घर निर्माणको क्रममा छन्।