पोखरा- प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेले अवसर पाउने भएका छन्।
कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको गत सोमबार निधन भएपछि उक्त पद रिक्त भएको हो।
केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए ।
निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकाले उनले अवसर पाउने पक्का भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये ५ जना सांसद बनेका थिए।
पाण्डेको नाम छैटौं नम्बरमा थियो।
संघीय संसद सचिवालयले सांसद निधनको जानकारीसहित आवश्यक प्रक्रिया पूरा गरेपछि निर्वाचन आयोगले नियुक्त गर्नेछ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक पाण्डेले पहिलो संविधानसभा सदस्य हुन्। त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
०३७ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका पाण्डे त्रिभुवन वहुमुखी क्याम्पस, पाल्पामा नेविसंघका सभापति भएका थिए।
नेवि संघका केन्द्रीय सदस्य समेत भइसकेका स्याङ्जा बिर्घामा जन्मेका पाण्डेले कांग्रेस क्षेत्रीय सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।