काठमाडौं– सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ।
कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्ने सर्वोच्चको परमादेश कार्यान्वयन नगरेको कसुरमा स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो।
कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नु भनी सर्वोच्च अदालतले असोज १५ गते सरकारका नाममा परमादेश जारी गरेको थियो । सरकारले सर्वोच्चको उक्त परमादेश कार्यान्वयन गरेको छैन।
सरकारले अदालतको आदेशको पालना नगरेको भन्दै अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए।
त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भन्दै एक साताभित्र लिखित जवाफ दिन आदेश दिएको छ।