जनकपुरधाम– कोरोना संक्रमणबाट प्रदेश २ मा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १८० पुगेको छ।
बिहीबार सप्तरीमा ४ जना र सिरहामा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का २८ वर्षीय पुरुष, महदेवा गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय पुरुष, वडा नम्बर ६ का ३० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय महिला र सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १४९ पुरुष र ३१ महिलाले ज्यान गुमाइसकेका छन्। हालसम्म पर्सामा ५०, सप्तरीमा ३१, सिरहामा २०, धनुषामा १९, बारामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।