काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी .नेकपा) भित्र देखिएको विवाद मत्थर हुने कुनै संकेत देखिएको छैन।
विवाद समाधानका विषयमा छलफल गर्न आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालुवाटार पुगेका थिए। अध्यक्षद्वयबीच करिब एक घण्टा भएको कुराकानीमा कुनै सहमति भने निस्कन सकेन।
छलफलमा दाहालले बुधबार ओली समूहले आफू निकटका प्रदेश १ का नेता-कार्यकर्ताहरुसँग गरेको भर्चुअल बैठकका विषयमा आपत्ति जनाएको बताइएको छ।
‘पार्टी फुटको आरोप मलाई लगाउने, बाहिर अनेक खालका विषय ल्याउने ? यसरी गुटसँग छलफल गर्ने कुरा राम्रो भएन,’ दाहालले ओलीसँग पोखेको असन्तुष्टि उद्धृत गर्दै उनी निकट एक नेताले भने।
त्यस्तै दाहालले प्रधानमन्त्रीले बुधबार आफ्नो राजीनामा माग्ने काम भएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति प्रकट गरेका छन्।
पार्टी कमिटीको बैठक राखेर त्यहीँ छलफल गर्नुपर्ने दाहालको भनाइ थियो।
दाहालले बैठक राख्न गरेको प्रस्तावमा ओलीले कुनै प्रतिक्रिया नदिएको ती नेताले बताए।