काठमाडौं- धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म दौडने भएका छन्। उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट यात्रा प्रारम्भ गर्ने जानकारी दिए।
उनले त्यहाँ आफैंले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने छन्। कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोश्रोपटक दौडन लागेका हुन्। करिब २२५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए। ‘मदिरा मुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ।
कार्कीको दौडलाई नेपाल शाहाकारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएका छा्। शाहाकारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले व्यक्तिगत रुपमा पनि कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्की २०६४ सालमा १०१ दिन दौडेर ७५ जिल्ला पुगेका थिए। त्यस्तै उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन्।
४९ वर्षीय कार्कीले काठमाडौं–उत्तर प्रदेश– बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोर–दोहोर गरेका छन्।
दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने उनले बताए। ‘विगतमा पनि दौडहरुबाट संकलित केही प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेको थिएँ। यसपटक पनि सहयोगलाई निरन्तरता दिने छु,’ कार्कीले भने।
उनको दौडलाई पूर्व धावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्नेछ।