काठमाडौं– तीनदिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बिहीबार देखि औपचारिक भेटवार्ता सुरू गरेका छन्।
आज बिहानैदेखि उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन्।
बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि उनले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेको नेपाली सेनाले जनाएको छ।
त्यसक्रममा नरवणेले यसअघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाले जस्तै जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपे।
त्यसपछि प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो।
भेटका क्रममा सेनापति थापा र नरवणेबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको सेनाले जनाएको छ।
भेटवार्तापछि जनरल नरवणेले नेपाली सेनालाई सहयोग स्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका छन्।
नेपाली सेनाका तर्फबाट महारथी थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए।
जनरल नरवणेलाई आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
त्यसपछि प्रधानसेनापति थापाले आयोजना गरेको रात्रीभोजमा नरवणे सरिक हुनेछन्।
प्रधान सेनापति थापाको औपचारिक निमन्त्रणामा बुधबार अपरान्ह नरवणे तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन्।
शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता हुने र स्वदेश फर्किने कार्यक्रम रहेको सेनाले जनाएको छ।