सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घेराबन्दीमा पारेर सरकारलाई काम गर्न दिइएन : प्रधानमन्त्री

घेराबन्दीमा पारेर सरकारलाई काम गर्न दिइएन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै मन्त्रीहरुलाई संकटको सामना गर्न तयार रहन आग्रह गरेका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै मन्त्रीहरुलाई संकटको सामना गर्न तयार रहन आग्रह गरेका छन्।

आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा उनले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र राजनीतिक घटनाक्रमका बारेमा चर्चा गर्दै सरकारलाई घेरेर काम गर्न नदिने वातावरण बनाइएको बताएका थिए।

‘काम गर्न खोज्दा पनि पार्टीभित्रबाट सहयोग भएन, उल्टै राजीनामा माग्ने काम भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘आजको बैठकमा उहाँले पछिल्लो समयको राजनीतिक घटनाक्रमकै बारेमा चर्चा गर्नुभयो।’

ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले कुनै महत्वपूर्ण निर्णय भने गरेन। प्रधानमन्त्रीले मुलुकलाई गम्भीर मोडमा पुर्याउने काम भइरहेको बताएका थिए।

उनले पार्टीभित्र र बाहिर देखिएको राजनीतिक घटनाक्रमको आफूले प्रतिवाद गर्ने बताएका थिए। पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मतभेत तीव्र बनिरहेका बेला ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिरबाट नै असहयोग भइरहेको बताएका हुन्। 

बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरिएको भन्दै आफूले अहिलेको परिस्थितिमा राजीनामा नदिने बताएका थिए।

प्रधानमन्त्रीले आफ्नो राजीनामा मागिएको बताए पनि नेकपाका नेताहरुले भने प्रधानमन्त्रीको भनाइलाई गम्भीरतापूर्वक लिएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग १५ कात्तिकमा भएको भेटवार्तापछि ओली निकटका नेताहरुले दाहालले आफू प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको सार्वजनिक गरेका थिए। तर, दाहाल निकट स्रोतले भने उक्त कुराको खण्डन गरिसकेको छ। 

नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि नेपाल समयसँगको कुराकानीमा अहिले पार्टीका कुनै कमिटी बैठक नबसेको र प्रधानमन्त्रीको राजीनामा नमागिएको बताएका थिए।

उनले एक्लाएक्लै भएका भेटवार्तामा कसैले उक्त विषय उठाएको भए पनि त्यो पार्टीको आधिकारिक धारणा नहुने प्रष्ट्याएका थिए। प्रधानमन्त्री ओलीले आफैँ राजीनामाको विषय सार्वजनिक गरेको विषयको आलोचना भइरहेको छ। 

प्रकाशित: Nov 05, 2020| 08:22 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।