धनगढी– कैलालीको धनगढीस्थित एक होटलमा प्रहरीले छापा मारेर होटेल मालिकसहित ६ जनालाई पक्राउ गरेको छ।
बसपार्कस्थित होटेल न्यू बडीकेदारमा राती १ बजे छापा मारेर प्रहरीले होटलका सञ्चालक टेकेन्द्र बडैलासहित ६ जनालाई पक्राउ गरेको हो।
‘तीन जना युवतीलाई धनगढीको एउटा होटेलमा राखिएको र उनीहरूलाई त्रिनगर नाका भएर बेचबिखनका लागी भारत लगिँदै छ’ भन्ने सूचनाका आधारमा खोजबिन गर्दै जाँदा राती होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।
बेच्न लगिएका भनिएका १७ वर्षका दुई र १९ वर्षकी एक युवती छन्। उनीहरूमध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका रहेको प्रहरीले जनाएको छ। होटेल सञ्चालक र अर्का एक युवा र युवतीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
बेच्न लैजान लागिएका भनिएका अन्य तिन युवतीलाई शान्ति पुनस्थापना केन्द्रको सेफ हाउसमा राखिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। ‘होटेलबाट केही मात्रामा चरेस समेत बरामद गरिएको छ,’ उनले भने।