पोखरा- कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ।
करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरोमा पुरिएका थिए।
ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए।
मृत्यु हुनेमा बुलिङटार–४ का २० वर्षीय गोपाल गरन्जा, चेतबहादुर अस्लामी मगर, ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन्।
पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।
पहिरोमा परी घाइते भएका २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवलसिंह लुंगेली मगरको भरतपुरमा उपचार भइरहेको छ।