पोखरा- नेकपामा मत्थर भयो भनिएको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावपछि फेरि चुलियो। भारतीय खुपिया एजेन्सी रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेपछि विवाद झनै चर्कियो।
कार्यकारी अध्यक्षको जिम्मा पाएका पुष्पकमल दाहालले पूर्व माओवादीहरुलाई जम्मा पारेर प्रधानमन्त्रीले अब पार्टी अलग भएर जानुपर्छ भन्ने आशय व्यक्त गरेको सार्वजनिक भइसकेको छ।
विवाद मिलाउने प्रयासमा गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वय पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल केही समय काठमाडौंमै बसे।
अहिले गण्डकीका मुख्यमन्त्री काठमाडौंबाट पोखरा फर्किसकेका छन्। बुधबार गृहजिल्ला पुगेका मुख्यमन्त्री गुरुङको ‘पार्टी फुटे त्यसको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डले लिनुपर्ने’ भनाइसहितको अन्तर्वार्ता एक सञ्चारमाध्यममा प्रकाशित भयो।
उक्त समाचारमा विभिन्न टीकाटिप्पणी आएका छन्।
गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले मुख्यमन्त्रीको यो भनाइमा प्रदेशमा कोरोना संक्रमणको रोकथाम र उपचारसँग जोडेर प्रतिक्रिया दिएका छन्।
समाचार सेयर गर्दै सांसद कोइरालाले भनेका छन्, ‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा बेहोर्नुपर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले नै बताउला, तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालको बेड नपाएर मर्नुपरेको दोष पनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केही गर्नु हुन्छ मुख्यमन्त्री ज्यू?’
प्रदेशसभामा अर्थ तथा विकास समिति सभापतिसमेत रहेका सांसद कोइराला तत्कालीन माओवादी खेमाका हुन्। उनी हाल कोरोना संक्रमित भई आइसोलेसनमा छन्।
प्रदेशमा अहिले कोरोना संक्रमितको ग्राफ डरलाग्दो गरी उकालो लागिरहेको छ। सरकारी अस्पतालमा उपचारका लागि बेड नभएको अवस्थामा निजी अस्पतालले भने मनलाग्दी रकम असुल्दै आएको गुनासो बढेको छ।
बुधबार मात्रै गण्डकीमा ७ जनाले कोरोनाबाट ज्यान गुमाएको रिपोर्ट प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ। गण्डकीमा कोरोनाबाट ९३ जनाको मृत्यु भइसकेको छ।