काठमाडौं– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको भन्दै अब सबैले सोच्नुपर्ने बेला आएको बताएका छन्।
बुधबार ट्विट गर्दै भट्टराईले ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको टिप्पणी गरेका छन्।
‘संविधानसभामा अग्रगामी एजेन्डा निस्तेज पार्न माओवादी–मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरे। पछि सत्ता निम्ति चुनावमा कांग्रेसविरूद्ध माओवादीसँग एकता गरे,’ उनले लेखेका छन्,‘अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ अब के ? सबैले सोचौं।’
उनले नेकपाभित्रको किचलो रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको बताएका छन्।
‘यो अन्तर्यमा अग्रगमन र पश्चगमन बीचको लडाइँ हो,’ उनले भनेका छन्। भट्टराईले फोन गरेर स्वस्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्नो धारणा ट्विट गरेका हुन्।