विराटनगर– प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो।
सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पूरा गरेका र सामान्य अवस्थाका संक्रमितहरुलाई स्वतः डिस्चार्ज गर्नेगरी छलफल अघि बढाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्ग निर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिनपछि स्वतः डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताए। उनले भने,‘स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुनः परीक्षण नगरी डिस्चार्ज गर्नेबारे छलफल भइरहेको छ।’
जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले सामान्य अवस्थाका संक्रमितहरुले १४ दिन पुरा गरेपछि पुनः परीक्षण नगर्दा हुने बताए। लक्षण नभएका सामान्य अवस्थाका व्यक्तिहरुका लागि पुनः परीक्षण आवश्यक नभएको उनको भनाइ छ।
विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सूर्य पराजुलीले भने राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा उल्लेख गरिएको व्यवस्थाअनुसार पुनः परीक्षण नगरी डिस्चार्ज गर्न नमिल्ने बताए। १४ दिनपछि पनि धेरैलाई संक्रमण कायम देखिएकाले स्वतः डिस्चार्ज गर्न नमिल्ने उनको तर्क छ।
संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेकाहरुको पुनः पीसीआर गरेर मात्र डिस्चार्ज गर्नुपर्ने डा. पराजुली बताउँछन्।
संक्रमित भएपछि घरमै बसेको प्रमाणित गर्न शुल्क तिर्नुपर्ने
कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न विराटनगर महानगरपालिकाले शुल्क लिन थालेको छ। संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरले ५ सय १० रुपैयाँ शुल्क लिन थालेको हो।
संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन्। पहिले यस्तो शुल्क नलिएको महानगरले पछिल्लो पटक सबै वडा कार्यालयमा परिपत्र गरी शुल्क लिन भनेको छ।
महानगरको निर्देशन गलत रहेको भन्दै केही वडाले भने शुल्क उठाएका छैनन्। बिमा प्रयोजनका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताए।