पर्सा- कोरोना महामारीका कारण सात महिनादेखि बन्द रहेका वीरगन्जका विद्यालय खुल्न थालेका छन्।
महानगरका सामुदायिक विद्यालय पनि सोमबारदेखि खुलेका छन्। त्यसअघि आइतबारदेखि निजी तथा आवसीय विद्यालयहरु खुलेका थिए।
कक्षा ८ देखि माथिल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा बोलाएरै पठनपाठन सुरु गरिएको हो।
विद्यालयहरुले बससेवा भने सुरु गरेका छैनन्। विद्यालय खुलेसँगै केहीले तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर मात्रै कक्षा कोठामा पठाउने गरेका छन्।
यसअघि प्याब्सनले आयोजना गरेको बैठकमा कात्तिक ११ गतेदेखि नै विद्यालय खोल्ने भनिए खुल्न सकेका थिएनन्।
तर सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमा विद्यालय पठाउनका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरेका छन्।
सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने मास्क, साबुन र थर्मोगनको महानगरले व्यवस्था गर्ने भएको छ। महानगरले ल्याउने सामान नआउन्जेल भने विद्यालय आफैँले व्यवस्था गर्नुपर्नेछ।
विद्यालयको पहिलो दिन विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने उपायहरुका बारेमा सिकाइएको सुरजी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीन मिश्राले बताए।
कात्तिक १३ गते छिटपुट रुपमा खुलेका निजी विद्यालय आइतबारदेखि भने धेरैजसो खुलेका छन्। हाल कक्षा ८ भन्दा माथिको कक्षा सञ्चालन गरेका निजी विद्यालयहरुले अवस्था अनुकूल बन्दै गए तल्लो तहका कक्षाहरु पनि सञ्चालन गर्ने तयारी गरेका छन्।
आइतबार महानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग छलफलसमेत गरेको थियो। सोही छलफलको आधारमा अभिभावकसँग लिखित मञ्जुरी लिएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी भौतिक रुपमा विद्यालय खोल्न महानगरपालिका सहमत देखिएको छ।
वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले भने अभिभावकको सहमतिमा विद्यार्थीलाई भौतिक रुपमा विद्यालय बोलाएर अध्यापन गराउने गरी नयाँ मोडालिटी ‘ट्रायल’ मात्रै गर्न खोजिएको बताए।
सरकारले रेडियो, टीभी, अनलाइन जस्ता वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न सिकाइ सहजीकरण निर्देशिका जारी गरे पनि वीरगन्ज कार्यन्वयन हुन सकेको छैन।
‘अनलाइन शिक्षाबाट सन्तुष्ट हुने अवस्था छैन, मेरो मञ्जुरीमा नै भौतिक रुपमा बालबालिकालाई विद्यालय पठाएको हुँ भन्ने कुरामा अभिभावक सहमत हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ८ भन्दामाथिका विद्यार्थीलाई राखेर पढाउन भनेका छौँ।’
अभिभावकले विद्यालय पठाउन सक्दिनँ भनेको अवस्थामा पनि उनीहरुको सिकाइ सुनिश्चित हुनुपर्ने कर्णको भनाइ छ।