काठमाडौं– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या प्रकरणमा प्रहरीले धनगढीका मटर व्यापारीलाई पक्राउ गरेको छ।
यसअघि पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा धनगढीका मटर व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश सिंहले अनुसन्धानका क्रममा गुप्ताको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको बताए।
‘पक्राउ परेका व्यक्तिहरुको बयान र घटना भएको राति तस्करी भएको मटर उनको भएको खुलेपछि पक्राउ गरेका हौ,’ उनले भने, ‘थप कुरा अनुसन्धान गर्दै जाँदा खुल्छ।’
१ कात्तिक राति सो क्षेत्रबाट तस्करहरुले तस्करी गरेको मटर व्यापारी गुप्ताको भएको खुलेको छ। तस्करी भइरहेको सूचना पाएपछि राति मोटरसाइकलमा गस्तीमा खटिएका असई विक र जवान साउँदको तस्करको समूहले विभत्स तरिकाले हत्या गरेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिए पनि संलग्नता देखिएका ८ जनालाई सार्वजनिक गरेको थियो। अदालतबाट म्याद थपेर अनुसन्धान जारी छ।
‘अनुसन्धान सकिएको छैन। हिजो पक्राउ परेका व्यक्तिलाई पनि सोही मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ एसएसपी सिंहले भने, ‘त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछौं।’ दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो।
यसअघि हत्यामा संलग्न रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, अर्का रोहित राना, राजकुमार राना, रामनिवास राना, दलराम राना र रामगोपाल राना पक्राउ परेका थिए। घटनामा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।