विराटनगर- कोरोना संक्रमणबाट आज (बुधबार) बिहान दुई जनाको मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा इलामकी महिला र झापाका पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
उनका अनुसार दमको पुरानै समस्या रहेकी इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या रहेको भन्दै वृद्धालाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
झापाको दमक-३ का ६४ वर्षीय संक्रमित वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। मृतक बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन्।
दाहालका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएकोभन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो।
अस्पताल भर्ना गर्नुअघि नै वृद्धलाई कोरोना संक्रमण पुष्टि भइसकेको प्रवन्धक दाहालले बताए।