काठमाडौं– आख्यानकार गगनसिंह थापाको निधन भएको छ।
विक्रम संवत् ००५ सालमा अछामको दर्ना पाटेखेतमा जन्मिएका आख्यानकार थापाको बुधबार बिहान २ बजे काठमाडाैंमा निधन भएको हो।
आख्यानकार थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि टीकापुरस्थित नुतन कुञ्जमा राखिने र शव यात्रा कटाक्षस्थित घरबाट गरिने पारिवारिक स्रोतले जनाएको छ। उनकाे शव बुधबारै टीकापुर लगिएकाे छ।
आख्यानकार थापाको अन्तिम संस्कार पाताभार घाटमा गरिने बताइएको छ।
थापाले ०३६ सालमा सहलेखनमा पहिलो कृति ‘सोह्र सौगात’ प्रकाशित भएको थियो। त्यसको ३४ वर्षपछि ०७० सालमा उनले ‘कर्णालीको छेउछाउ’, ०७२ मा ‘पुर्खाको चिठ्ठी’, ०७४ सालमा ‘मधुशाला’, ०७६ मा ‘उज्जली’ कृति प्रकाशित गरेका थिए।
एक महिनाअघि मात्रै आख्यानकार थापाको छैटौं कृतिका रुपमा ‘महाप्रलय’ उपन्यास विमोचन भएको थियो। हालसम्म थापाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन्। छैटौं कृतिका रुपमा उनको ‘महाप्रलय’ ०७७ असोजमा प्रकाशित भएको थियो। आख्यानकार अर्को उपन्यास 'मरुभूमिकी महारानी' यसै साता सार्वजनिक हुने कार्यक्रम थियाे।
आख्यानकार थापाको निधनप्रति नेपाल शिक्षक संघले शोक व्यक्त गरेको छ।
संघले शोक विज्ञप्ति प्र्रकाशित गर्दै भनेको छ, ‘नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष तथा जनजागृति मावि टीकापुर २ की शिक्षक पद्यमिनी थापाका पिता तथा नेपाल शिक्षक संघ कैलालीका सचिव र अरुणोदय मावी खैरीफाँटाका प्रधानाध्यापक कर्ण कुँवरका ससुराबुवाको ७३ वर्षको उमेरमा भएको निधनको खबरले सिंगो शिक्षक संघ स्तब्ध भएको छ।’
विज्ञप्तिमा मृत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।