आन्तरिक विवादको चरमोत्कर्षमा पुगिसकेको नेकपालाई हामीले २६ भदौमा सहज रूपबाट अघि बढाएका थियौं। दुवै अध्यक्षको हस्ताक्षरमा अन्तर पार्टी निर्देशन (अपानि) जारी भयो।
विडम्बना कहाँनिर भयो भने दुई अध्यक्षले हस्ताक्षर गरेको अपानि एउटा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट उल्लंघन भयो। अपानि सबैले मान्नुपर्ने तर उहाँले नमान्ने। प्रधानमन्त्रीले अपानि मान्नु पर्दैन ?
हस्ताक्षरको मसी सुक्न नपाउँदै ओलीले सम्पूर्ण बेथिति सुुरु गर्नुभयो। पार्टीले मन्त्रिपरिषद् विस्तार नगर भन्दाभन्दै विस्तार गर्नुभयो। उहाँले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेट्दा पनि पार्टीमा कुनै सल्लाह गर्नु भएन। ओलीले गोयललाई कसरी बोलाउनुभयो ? के कारणले बोलाउनुभयो ? दुई जनाबीच के कुराकानी भयो कुनै जानकारी छैन।
प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिमा पनि पार्टीमा कहिल्यै सल्लाह गर्नुभएको छैन। आफ्नो खुसीले मन परेका मानिसलाई फटाफट एकपछि अर्को जिम्मेवारी थप्दै जानुभएको छ। कार्यकर्ताको कुनै मूल्यांकन छैन भने नियुक्तिका सबै मापदण्ड उल्लंघन गर्दै अघि बढ्नुभएको छ।
एकपक्षीय र एकलौटी रूपले अघि बढेर उहाँ निरंकुश बन्नुभएको छ। तानाशाही चरित्र देखाउन थाल्नुभएको छ उहाँले। यस्तो तानाशाही नेतृत्व लोकतन्त्र र गणतन्त्रका लागि सुहाउँदैन। यस्तो खालको शैलीबाट गणतन्त्र बच्दैन र कम्युनिस्ट आन्दोलन पनि जोगिन्न।
यसअघि नै हामीले स्थायी कमिटी बैठकमा ओलीलाई तपाईंले अब दुईवटै पदबाट छोड्नुपर्छ, अयोग्य हुनुभयो र पार्टीलाई वैचारिक रूपमा अगाडि बढाउन सक्नु हुन्न भनिसकेका छौं। तर उहाँले अटेर गरिरहनुभएको छ।
अहिले पार्टी फुटाउने कसैको मनसाय छैन। बल्ल कम्युनिस्ट पार्टी यत्रो विशाल भएको छ। गौरवपूर्ण इतिहास बोकेको पार्टी हो यो। उल्टै ओलीले फुटाउने दम्भ देखाउनुभएको छ। अलगअलग बस्ने, सँगै बसेर जान सकिन्न भनेर उहाँकै मुखबाट आएको हो।
उहाँको मनोमानीलाई सही थाप्दै र डराउदै बस्ने हो भने हामीले यत्रो बलिदान र दुःख गरेर ल्याएको गणतन्त्र जोगिन सक्दैन। संविधान कार्यान्वयन गर्न सक्दैनौं। कम्युनिस्ट पार्टीको बलिदानपूर्ण इतिहास नामेट हुन्छ।
कोरोना महामारीले जनजीवन आक्रान्त छ। सरकार यसबारे जवाफदेही छैन। प्रधानमन्त्रीले उल्टै म उपचार गर्न सक्दिनँ भनेर गैरजिम्मेवार तरिकाले बोल्नुभएको छ। सुशासन दिन सक्नुभएको छैन। महँगी बढेको छ। कुनै अनुगमन छैन। यी सम्पूर्ण कुरामा उहाँलाई कुनै मतलबै छैन। जनताप्रति, देशप्रति, लोकतन्त्रप्रति, कम्युनिस्ट आन्दोलनप्रति, सहिदको भावनाप्रति चासो छैन।
उहाँ त एकलौटी ढंगले कसरी आफ्नो गुट बलियो बनाउने, कसरी आफ्नो स्वार्थपूर्ति गर्ने भनेर हिँड्नुभएको छ। साँच्चिकै भन्नुपर्दा सबैका लागि अत्यन्तै पीडादायी भएको छ। यस्तो खालको दुर्भाग्यपूर्ण स्थितिमा हामी छौं। कस्तो राम्रो बन्नुपर्ने देश, कस्तो व्यवस्थित ढंगले चल्नुपर्ने यो देश, कस्तो सुशासनयुक्त हुनुपर्ने देश, कति सामाजिक रूपान्तरण गरेर विकास निर्माणमा अगाडि बढ्नुपर्ने देश यतिबेला ओलीकै कारणले बर्बाद भएको छ।
विगतमा हामी निरीह भएर, कमजोर भएर, डराएर पछाडि हटेका थिएनौं। कम्तीमा पनि अब स्थिति हेरौैं न, एकचोटि मौका दिऊँ त भनेर बसेका हौं। अब पछाडि हट्न हुँदैन। जनताप्रतिको जवाफदेहितामा हामी कमजोर भएको महसुस हुन्छ। त्यसो भएकाले मुलुकको रूपान्तरण र समृृद्धिको बाटोमा अघि बढ्न नेतृत्व तयार हुनुपर्छ।
हामीले नेकपाको प्रधानमन्त्री भनेर मात्रै सहेर बस्नु हुँदैन। उहाँले जे गरे पनि ठिक छ भनेर बस्ने हो भने मुलुकको भविष्य अन्धकार र दुर्भाग्यपूर्ण हुनेछ। पार्टीको भविष्य पनि राम्रो हुँदैन।
नेकपालाई जोगाउन, गणतन्त्र र लोकतन्त्र बचाउन अब दृढतापूर्वक अगाडि बढ्नुपर्छ। ओली त पार्टीले बनाएको एउटा नेतृत्व हो, जनताले विश्वास गरेको नेतृत्व हो। उहाँको हैसियत, क्षमता र औकातले काम गर्न नसकेपछि छोड्नुपर्छ। आफंैले जबाफदेही भएर छोडेको भए त राम्रो हुन्थ्यो। अब हामी संविधान र कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं। स्थायी कमिटी बैठक पनि माग गर्छौं।
(नेकपा स्थायी कमिटी सदस्य शाक्यसँग बीपी अनमोलले गरेको कुराकानीमा आधारित)