काठमाडौं- सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। सत्तारुढ गठबन्धनको आज आइतबार बसेको बैठकले एक-दुई दिनभित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक नेताले एक-दुई दिनमै सरकार विस्तार हुने दावी गरे। सर्वोच्चले अध्यादेशका सन्दर्भमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अध्यादेश निष्क्रिय बनाउन कानुनी अड्चन नआउने निष्कर्ष समेत बैठकले निकालेको छ।
बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग गरेको थियो। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले जसपाको माग बमोजिम अध्यादेश निष्कृय बनाउन सत्तारुढ दलहरु सहमत भएका ह्न। नेकपा एकिकृत समाजवादी पनि अध्यादेश निष्कृय बनाउने विषयमा सहमत भएको छ।
यस्तै सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन्। आज बसेको गठबन्धनमा ‘कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच प्रदेशमा समेत एक भएर बढ्ने सहमति भएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए।
माधव नेपालको सपना मच्छडले हात्ती निलेजस्तै : ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जवाफ फर्काएका छन्। मकवानपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो चुनावसम्म एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका थिए।
एमालेको जारी केन्द्रीय कमिटी बैठक आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘मच्छडले निदाएका बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो।’
पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि बताएका छन्। क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए। पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको समेत दाबी गरे।
एमालेमा १० बुँदेको किचलो कायमै
पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका हुन्। नेकपा एमालेको केन्द्रीय समिति बैठक भने आज सकिएको छ।
शुक्रबारबाट सुरु भएको बैठक विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेज पारित गर्दै आज सकिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका थिए।
वर्षाले क्षति गरेका सडक निर्माण गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार सिंदरवारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सम्बन्धित मन्त्रालय अन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका कामहरु आवश्यक श्रोतको सुनिश्चितता गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइन्।
यस्तै समितिको बैठकले चाडपर्वमा हुनसक्ने अनियमितता माथि विशेष ध्यान दिन अपिल गरेको छ। लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टास्न, भौतिकरुपमा लामवद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न, अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका कुराहरुको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको सभापति खड्काले बताइन्।
सभापति खड्काले दशैँको ५ दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई २ दिन थपेर हप्ता दिन बनाउन पनि सरकारलाई सचेत गराइन्।
नागरिक उद्धार संयन्त्र बनाउन निर्देशन
यस्तै, प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकहरुको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्।
देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारलाई सचेत गराए। आईतबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरे।
समितिका सभापति समेत रहेका सांसद विमलप्रसाद श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराए। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।
यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए। भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता नहुने भएकाले उनीहरुबारे जानकारी राख्न समस्या भईरहेको उनको भनाइ छ।
विद्यार्थीलाई सम्बन्धित देश जाने व्यवस्था गर्न शिक्षा समितिले दियो निर्देशन
संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाईरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरुलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन्।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा। हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशन अनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिवद्धता जनाए। उनले हाल चीनमा मात्रै अध्ययन गर्ने जाने विद्यार्थीहरुको संख्या ७ हजार ४८० जना रहेको जानकारी गराए।
सहसचिव लम्सालले सरकारले सम्बन्धित विश्वविद्यालयसँग बुझेर मात्रै नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि विभिन्न देशमा पठाउन अनुमति दिने गरेको पनि स्पष्ट पारे।
एनआरएनए अध्यक्षमा कुलको उम्मेदवारी घोषणा
गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकार समेत रहेका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ। एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए।
आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु संचालन गर्ने लगायतका योजना अघि बढाउने बताए। उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिए।
सेयर बजारमा पुनः पहिरो
गत साता केही दिन उच्च अंकले बढेको सेयरबजारमा पुनः पहिरो गएको छ। साताको पहिलो कारोबार दिन आज पुँजीबजार मापक परिसूचक नेप्से ६१।२७ अंकले घटेको हो। यससँगै नेप्से २७५८।४८ विन्दुमा ओर्लिएको हो।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आइतबार कूल छ अर्ब ५० करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १८६ वटा कम्पनीका एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ७३ हजार ६९३ पटक खरिद–बिक्री भएका थिए।
कारोबार भएकामध्ये आठ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको सूचक नकारात्मक बनेको छ भने दुई वटाको कुनै परिवर्तन भएन।
८३४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर ८३४ जना कोभिड–१९ संक्रमित थपिएका छन्। १३ हजार ७३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८३४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ।
यो अवधिमा एक हजार २७९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ।
पोखरा र भैरहवाले अंक बाँडे
एभरेस्ट प्रिमियर लिग–ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।
पहिला ब्याटिङ गरेको पोखराले १०।१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँडियो।
प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स इलेभेन तथा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने छ।
भिडियोमा हेर्नुहोस्