धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि सोमबारे अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
कुनै रोग नभएका उनलाई मृत्युपश्चात पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो। यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो। -रासस