काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकमा आज कुनै ठोस निर्णय हुन सकेन।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कन सकेन।
छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसी आज छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्केको बताए।
‘आज उपसभापति र महामन्त्रीले आफ्नो कुराहरु राख्नुभयो’, उनले भने, ‘सभापति ज्यूले बोल्नुभएन। तर बीचबीचमा उहाँले जे गरेको हो ठिकै गरेको भन्नुभयो।’
केन्द्रीय सदस्य केसीका अनुसार आजको छलफलमा बोल्ने संस्थापन पक्षका नेताहरुले आफूहरुले गल्ती नगरेको र जे भएको छ त्यो ठिकै भएको धारणा राखेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यहरूले लिखित रूपमा राखेका १६ बुँदे असहमतिबारे छलफल भएको थियो। तर, कुनै सहमति भने हुन सकेन।
छलफलमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी विधानअनुसार चल्नुपर्ने र गठन गरिएका विभागहरु खारेज हुनुपर्ने धारणा राखेका थिए।
आजको छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्केकाले पदाधिकारी बैठक भोलि पनि दिउँसो १ बजे नै बस्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसले २१ कार्तिकमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
त्यसअघि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर जानुपर्ने भन्दै बैठक बोलाएका हुन्।
७ फागुनदेखि महाधिवेशन गर्ने भन्दै नेपाली कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ।