विराटनगर–कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा निजी क्षेत्रको सक्रियतामा अक्सिजनसहितको एक सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको भवनमा करिब १ करोडको लागतमा सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले बताए।
तिहारअगावै सञ्चालन गर्नेगरी केयर सेन्टर निर्माण कार्य भइरहेको उनले बताए। सेन्टरमा एसीसहितको अक्सिजन बेड तयार गरिएको छ। अक्सिजन चाहिने बिरामीका लागि निजी अस्पतालमा चर्को शुल्क लिने गरेको गुनासो आएपछि निजी क्षेत्रले प्रदेश सरकार र विराटनगर महानगरपालिकासँगको सहकार्यमा केयर सेन्टर निर्माण कार्य अघि बढाएको छ।
चाडपर्वका कारण सञ्चालन केही ढिला भएको संयोजक सारडाको भनाइ छ। उनले भने, ‘एक सय बेडको सफलतापछि थप ३ सय बेडको तयारी गर्नेछौं।’ प्रदेश सरकारले अक्सिजन सहितको बेडको आवश्यकता महसुस गर्नुपर्ने उनले बताए।
कोरोना संक्रमित बढ्दै गएपछि निजी क्षेत्रसँगको सहकार्यमा थप सय बेडको नागरिक केयर सेन्टर निर्माण शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। प्रदेश सरकारले संक्रमणको मात्रा हेरेर स्टेप चालिरहेको उनको भनाइ छ।
नेपालमा कोरोना संक्रमण देखिनासाथ विराटनगरमा कोभिड अस्पतालको निर्माण गरिएको उनले बताए। उनले भने, ‘संक्रमित बढेपछि प्रदेशका विभिन्न स्थानमा आइसोलेसन निर्माण गरौं ।’ निजी क्षेत्रको १ सय वेड बाहेक प्रदेश सरकारले विशिष्टकृत सेवासहितको थप १ सय बेड पनि तयार भइरहेको मन्त्री घिमिरेले बताए। उनले भने, ‘आईसियू र भेन्टिलेटर सहितको सुविधा राखेर १ सय बेड तयार भइरहेको छ।’
विराटनगरमा संक्रमित बढेसँगै अक्सिजन वेडको अभाव भएपछि निजी क्षेत्रसँगको सहकार्यमा नागरिक केयर सेन्टर निर्माण शुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। सरकारी प्रकृया ढिलो हुने हुँदा निजी क्षेत्रसँग सहकार्य गरिएको उनले बताए।
निजी क्षेत्रसँग काम गर्दा छिटो हुने प्रमुख पराजुलीको भनाइ छ। महानगरपालिकाले पीसीआर मेसिन पनि निजी क्षेत्रसँगको सहकार्यमा खरिद गरेको छ। विराटनगरका निजी अस्पतालहरुले संक्रमितको उपचारमा चर्को शुल्क लिने गरेको गुनासो आएकाले प्रमुख जिल्ला अधिकारीसँग अनुगमनबारे कुरा गरेको प्रमुख पराजुलीले बताए।
विराटनगरमा निजी क्षेत्रबाट सय बेडको नागरिक केयर सेन्टर