पोखरा– नेपाल–भारत सीमाबारे विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न भन्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ।
सेनाध्यक्ष नरवणेको नेपाल भम्रण रोक्न माग गर्दै मोर्चाले सोमबार १ घण्टा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएको हो।
कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेपाल कसैको इशारामा चलिरहेको भन्ने भारतीय सेनाध्यक्ष नरवाणेको अभिव्यक्ति निन्दनीय र लज्जास्पद भएकाले आफूहरु विरोधमा उत्रेको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले बताए।
विवादित अभिव्यक्ति दिने व्यक्तिलाई नेपाल भ्रमण गर्न दिन नहुने मोर्चाको धारणा रहेको उनको भनाइ छ। नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन पनि मोर्चाले माग गरेको छ।
भारतीय सेनाध्यक्षलाई सम्मान गर्ने परम्परा खारेज गर, नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण रद्द गर, नेपाल र नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षलाई शीतल निवासमा स्वागत किन ?, भारतीय सेना कालापानी तुरुन्तै छोड लगायत नारा अंकित प्लाकार्डसहित मोर्चाले धर्ना दिएको हो।
भारतीय सेनाध्यक्ष कात्तिक १९ गते ३ दिनका लागि नेपाल आउँदैछन्। उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ। नेपाल, भारतका सेनापति र सेनाध्यक्षको भ्रमणमा यस्तो पदवी दिने परम्परा छ।