काठमाडौं– विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ।
नेपाली समयअनुसार आइतबार राति सुरु भर्चुअल सम्मेलन चार दिनसम्म चल्ने छ।
जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले सहभागिता जनाएका छन्।
यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन्। गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपीयूको नयाँ अध्यक्ष निर्वाचित गर्नेछ।
हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन्।
मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
अधिवेशनमा आईपीयूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन्। आईपीयू अध्यक्षको कार्यकाल तीन वर्षको हुने छ।
यसैबीच नेपालबाट अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।